सुदूरपश्चिममा आम हडतालको घोषणा


धनगढी/२७ जेठ ।
सुदूरपश्चिममा भोलि आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको हो ।
स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार सुदूरपश्चिम पूर्ण रुपमा ठप्प हुने बताए। उनले यातायात व्यवसायी, राजनीतिक दल, व्यापारीहरुले पनि सहयोग गर्ने बताएका छन्। संघर्ष समितिका संयोजक ‘आगो’ले आइतवार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ÷संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए। संघर्ष समितिले शुक्रवार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकहरुसँग छलफल गरेको थियो।
संघीय मन्त्रिपरिषदले २०७९ माघ २९ गते र जेठ ५ गतेको संघीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएको सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय ६ सय शैयामा सञ्चालन गर्न माग गर्दै कैलालीमा प्रदर्शन जारी छ। उनीहरुले जेठ १५ गते संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान निर्माण गरेर एकसय शैय्याको मात्रै अस्पताल संचालन गर्ने घोषणा गरेपछि विरोधमा गर्दै आएका हुन्। 
गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालको माग गर्दै संघर्ष समितिको नेतृत्वमा विगत १० दिनदेखि आन्दोलन भइरहेको छ। बिहीवार अत्तरिया बजार बन्द गरेको थियो। बिहिवार साझ नाराबाजीसहित गेटाको मूल गेटमा ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ लेखिएको ब्यानर पनि राखेको छ। शुक्रवार साँझ धनगढीमा एमालेले पनि विरोध प्रदर्शन गरेको थियो। 


Comments